सरकारका १०० दिन : १६ हजार रोजगारी, ११ हजार सम्पत्ति विवरण संकलन
सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १६ हजारभन्दा बढी रोजगारी सिर्जना भएको दाबी गरेको छ। प्रतिनिधिसभामा सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराउँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले चालु आर्थिक वर्षमा १७ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रहेकामा हालसम्म १६ हजार ८ जनाले रोजगारी पाइसकेको बताए।
उनका अनुसार वर्तमान सरकार सुरुदेखि नै सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्ध रहेको छ। सरकार गठन भएकै दिन मन्त्रिपरिषद्को पहिलो बैठकबाट शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरिएको र त्यसको नियमित अनुगमन, समन्वय तथा सहजीकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत भइरहेको उनले जानकारी दिए।
प्रवक्ता पोखरेलले स्वार्थ प्रेरित नीतिनिर्माण नियन्त्रण गर्न ‘राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू’ तथा ‘नीति परीक्षण ढाँचा’ लागू गरिएको बताए। प्रशासनिक संरचनालाई चुस्त बनाउन संघीय मन्त्रालयको संख्या १८ मा सीमित गरी १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको उनको भनाइ छ।
उनले कर्मचारी युनियन व्यवस्था खारेज गरी प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइएको उल्लेख गर्दै राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानुनी सम्पत्तिको छानबिनका लागि ‘जाँचबुझ आयोग ऐन, २०२६’ बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको बताए। आयोगले हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन गरिसकेको उनले जानकारी दिए।
सरकार गठन भएयता सरकारी निकायमा आपसी लेनदेनमा संलग्न ६६६ जना विचौलियालाई नियन्त्रणमा लिइएको र १७० जनाविरुद्ध मुद्दा दर्ता गरिएको मन्त्री पोखरेलले बताए।
त्यसैगरी, लुटपाट तथा आक्रमणमा संलग्न १३ हजार ६९६ जनालाई नियन्त्रणमा लिई ६ हजार १९५ जनाविरुद्ध मुद्दा दायर गरिएको पनि उनले जानकारी दिए।





प्रतिकृया दिनुहोस