भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने तयारी

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण प्रमाणीकरण गरी कानुनी अवस्था निर्धारण गर्न स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ ।

विभिन्न काम तथा भ्रमणका सिलसिलामा रसुवा पुगेका जिल्लाका नागरिक बाढीपछि सम्पर्कविहीन भएका थिए । उनीहरूको अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रिया, २०८३ अनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण एकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार काम अघि बढाउने निर्णय गरेको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण प्रमाणीकरण गरिनेछ ।

विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बिहीबारदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्नेछन् ।

बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएको अवस्थामा वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वडा समितिले प्राप्त निवेदनमाथि जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्नेछ । उक्त समितिले बेपत्ता व्यक्तिको विवरण यकिन गर्ने निर्णय गर्नेछ ।

प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले तीन दिनको दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ । त्यसपछि जिल्ला समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाउन लागिएको हो ।

सम्बन्धित वडा कार्यालयहरूले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र पालिकामा पेस गर्नुपर्नेछ । स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ गतेभित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

तोकिएको समयभन्दा अगाडि नै स्थानीय तहबाट विवरण प्राप्त भएमा कात्तिक १८ गतेअघि नै बाँकी प्रक्रिया अघि बढाइने अधिकारीले बताए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका ३७ जना अझै सम्पर्कविहीन छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ । बाढीपछि बेपत्ता भएका अन्य चार जना भने परिवारको सम्पर्कमा आएका थिए ।

प्रतिकृया दिनुहोस
↑