दसैँमा चितवनमा ३० करोड बढीको खसी-बोकाको कारोबार हुने अनुमान

बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा बढीको खसी-बोकाको कारोबार हुने अनुमान गरिएको छ। दसैँको सुरुआतसँगै जिल्लामा मासुको व्यापार उल्लेख्य रूपमा बढेको छ।

मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार दसैँको अवधिमा मात्रै १५ हजारभन्दा बढी खसी-च्याङ्ग्रा बिक्री हुने र त्यसबाट ३० करोड रुपैयाँ बराबरको कारोबार हुने आकलन गरिएको छ। यो तथ्याङ्कमा घरमै उत्पादन गरी खपत गरिएका खसी-बोका समावेश छैनन्।

गत वर्षको दसैँमा करिब १० हजार खसी-च्याङ्ग्रा बिक्री भएकोमा यसपालि घटस्थापनादेखि नै माग बढेकाले खपत अझै बढ्ने व्यवसायीको भनाइ छ। जिल्लामा रहेका एक हजारभन्दा बढी मासु पसलमध्ये १५० वटा पसलमा खसीको मात्र मासु बिक्री हुने गर्छ।

विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले भारतीय खसी-बोका आयात गरेका छैनन्। स्थानीय स्तरमै सञ्चालित सहकारीहरूले उत्पादन बढाएपछि भारतबाट खसी ल्याउनुपर्ने बाध्यता हटेको अध्यक्ष कँडेलले बताए। हाल चितवनबाट उत्पादित खसी काठमाडौँ पठाइनुका साथै जिल्लाभित्र भने गोरखा, धादिङ, नवलपरासी र तनहुँबाट आपूर्ति भइरहेको छ।

हाल चितवनको बजारमा जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० रुपैयाँभन्दा बढी छ भने तयारी मासु प्रतिकिलो एक हजार दुई सय रुपैयाँमा बिक्री भइरहेको छ।

यस्तै यसपालि मुस्ताङका साथै जुम्ला, बझाङ र डोल्पाबाट गरी तीन हजारभन्दा बढी च्याङ्ग्रा चितवन भित्रिएका छन्। दसैँमा कुखुराको मासुको बिक्री भने तुलनात्मक रूपमा कम हुने र करिब चार करोड रुपैयाँको कारोबार हुने अनुमान छ।

प्रतिकृया दिनुहोस
↑