मलानको अर्धशतकमा विराटनगरलाई चितवनको १५८ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको विराटनगरविरुद्ध ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो ।
चितवनका लागि ओपनर डेविड मलानले सर्वाधिक ७० रन बनाए । उनले ५० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । मलानले अर्का ओपनर देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए ।
अविजित रहेका रवि बोपाराले ३२ रन बनाए भने डान मुस्लेले २९ र देव खनालले १२ रनको योगदान दिए ।
विराटनगरका लागि एञ्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले समान एक विकेट लिए ।
खेलका क्रममा विराटनगरका कप्तान सन्दीप लामिछानेले १७.३ ओभरमा डीआरएसको अपिल गरेका थिए । अम्पायरले नटआउट दिएपछि उनले निर्णय चुनौती दिएका थिए । तर, टिभी अम्पायरले पनि नटआउटको निर्णय कायम राखेपछि चितवनका डान मुस्लेको विकेट जोगिएको थियो ।
दुवै टोली प्रतियोगितामा जितका साथ सुरुआत गर्ने लक्ष्यमा छन् । पहिलो सिजन लिग चरणमै सीमित भएको विराटनगरले दोस्रो सिजनमा सुधारिएको प्रदर्शन गर्दै प्लेअफसम्मको यात्रा तय गरेको थियो । यता, पहिलो सिजन एलिमिनेटरसम्म पुगेको चितवन दोस्रो सिजनमा भने लिग चरणबाटै बाहिरिएको थियो ।
सोमबारदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।





प्रतिकृया दिनुहोस