बैंककको एक बारमा आगलागी हुँदा २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये ९ जना पुरुष र १८ जना महिला छन् । साथै केही व्यक्ति बेपत्ता रहेको थाई सञ्चारमाध्यम थाइराथले जनाएको छ ।
सोमबार मध्यरातपछि आगलागी भएको जानकारी प्राप्त भएपछि दमकल टोली घटनास्थलमा पुगेको थियो । त्यतिबेला बारको मुख्य प्रवेशद्वारबाट मानिसहरू आगो र धुवाँबाट ज्यान जोगाउन भागिरहेका थिए ।
सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोहरूमा बारबाट ठूलो आगोको मुस्लो निस्किरहेको, मानिसहरू चिच्याउँदै भागिरहेको, केही लडिरहेको तथा कम्तीमा दुई जना व्यक्तिको शरीरमा आगो सल्किएको देखिन्छ ।
प्रधानमन्त्रीले घटनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताए ।
दमकलकर्मीहरूले करिब आधा घण्टामै आगो नियन्त्रणमा लिएका थिए । तर त्यतिन्जेलसम्म ठूलो मानवीय क्षति भइसकेको थियो ।
प्रधानमन्त्रीले धेरै मानिसहरू बाहिर निस्कनुको सट्टा भवनको पछाडि गएर शौचालयमा लुकेको बताए। उनले धेरैजसो शव त्यहाँबाट बरामद भएको बताए।
प्रत्यक्षदर्शीका अनुसार सोमबार राति करिब ११:३० बजे त्यहाँबाट गुज्रिरहेका एक चालकले बारमा आगो लागेको देखेपछि दमकललाई खबर गरेका थिए । उनले आफ्नो गाडी रोकेर झ्याल फुटाई दुई जनालाई सुरक्षित बाहिर निकाल्न सफल भएको बताएका छन् ।





प्रतिकृया दिनुहोस