भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ कामदारको मृत्यु
भारतको पश्चिमी राज्य महाराष्ट्र राज्यस्थित एक फोहोर प्रशोधन केन्द्रमा फोहोरको विशाल थुप्रो खस्दा ९ जना कामदारको मृत्यु भएको छ। पुणे सहरको बाहिरी क्षेत्रमा रहेको ‘एन्टोनी वेस्ट’को फोहोरबाट ऊर्जा उत्पादन गर्ने (वेस्ट–टु–एनर्जी) केन्द्रमा गत बुधबार भएको दुर्घटनामा अन्य १४ जनालाई जीवितै उद्धार गरिएको सञ्चालक कम्पनीले जनाएको छ।
अविरल वर्षाका कारण थुप्रिएको फोहोरको ठूलो भाग खस्दा प्रशोधन केन्द्रको प्रशासनिक भवन पुरिएको थियो। भवनभित्र रहेका कामदारहरू पुरिँदा ९ जनाको ज्यान गएको हो।
उद्धार टोलीले निरन्तर वर्षाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाएको छ। प्रतिकूल मौसम र भग्नावशेषका कारण फसेकासम्म पुग्न कठिनाइ भएको अधिकारीहरूले बताएका छन्। घटनापछि संरचनागत तथा सुरक्षासम्बन्धी परीक्षण पूरा नभएसम्म केन्द्रको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ।
भारतमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनका बेला भारी वर्षाका कारण भवन तथा पूर्वाधारसँग सम्बन्धित दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। लामो समयसम्मको वर्षाले संरचना कमजोर बनाउने तथा पहिरोको जोखिम बढाउने गर्छ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भारतमा अतिवृष्टि, अत्यधिक गर्मी तथा अन्य चरम मौसमी घटनाहरूको आवृत्ति र तीव्रता बढ्दै गएको छ। मौसमविद्हरूले यस वर्ष सम्भावित शक्तिशाली ‘एल निनो’ प्रभावले भारतको सामान्य मनसुनी चक्रमा समेत असर पार्न सक्ने चेतावनी दिएका छन्।





प्रतिकृया दिनुहोस