केन्द्रीय सर्भर पाँच दिनदेखि अवरुद्ध, यातायात व्यवस्था कार्यालय चितवनको लाइसेन्स सेवा प्रभावित

केन्द्रीय सर्भर पाँच दिनदेखि अवरुद्ध हुँदा यातायात व्यवस्था कार्यालय चितवनबाट प्रदान गरिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएको छ। नयाँ लाइसेन्स वितरण, नवीकरण तथा अन्य अधिकांश सेवा ठप्प भएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ।

कार्यालयका अनुसार बिहीबारदेखि केन्द्रीय सर्भर नियमित रूपमा सञ्चालन हुन नसक्दा सेवा प्रवाह अवरुद्ध भएको हो। बिहानैदेखि सेवा लिन पुगेका सेवाग्राही दिनभर कार्यालयमा कुरेर पनि काम नभई रित्तै फर्किन बाध्य भएका छन्।

यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख अमृत अधिकारीले समस्या कार्यालयको नभई केन्द्रीय प्रणालीमै आएको अवरोधका कारण उत्पन्न भएको बताए। ‘चार–पाँच दिनदेखि केन्द्रकै सर्भर डाउन छ। आज पनि सञ्चालनमा आएको छैन,’ उनले भने, ‘हाम्रो कार्यालयमा कुनै समस्या छैन। केन्द्रीय प्रणालीमै आएको अवरोधका कारण सेवाग्राहीले दुःख पाएका छन्।’

उनका अनुसार आइतबार केही समयका लागि सर्भर सञ्चालनमा आए पनि सार्वजनिक बिदा परेकाले सेवा दिन सम्भव भएन। असार मसान्तका बेला सवारी कर तिर्ने, लाइसेन्स नवीकरण गर्ने तथा अन्य प्रशासनिक कामका लागि सेवाग्राहीको चाप उच्च हुने समयमै सर्भर अवरुद्ध हुँदा समस्या झन् जटिल बनेको कार्यालयले जनाएको छ।

यसबीच साउन १ गतेदेखि सवारीसम्बन्धी कर तथा शुल्क बढ्ने चर्चा चलेसँगै सेवाग्राहीबीच विभिन्न अड्कलबाजीसमेत सुरु भएको छ। केहीले कर वृद्धि लागू हुनुअघि जानाजानी सर्भर बन्द गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

सेवाग्राही राजेन्द्र ढुंगानाले कर तथा शुल्क वृद्धि कार्यान्वयन हुनुअघि नियोजित रूपमा सर्भर बन्द गरिएको हुन सक्ने आशंका व्यक्त गरे। यद्यपि सर्भर कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्नेबारे केन्द्रीय निकायबाट कुनै स्पष्ट जानकारी प्राप्त नभएको कार्यालयले जनाएको छ।

‘हामीले सेवा बन्द भएको औपचारिक सूचना समेत निकाल्न सकेका छैनौँ,’ प्रमुख अधिकारीले भने, ‘सेवाग्राहीको चाप अत्यधिक भएकाले व्यवस्थापन गर्न निकै कठिन भइरहेको छ।’

प्रतिकृया दिनुहोस