नयाँ अध्यक्ष नियुक्तिसँगै क्यान्सर अस्पतालमा तलब भुक्तानी

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलबसहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ।

गत चैत २० देखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हाले संगै रोकिएको भुक्तानी थालिएको हो। अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार अध्यक्षको अभावमा तलब, भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो। कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी दिइएको थियो।

अध्यक्षको अभावमा औषधिलगायतका अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो। क्यान्सर अस्पतालको नियमावलीमा मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्दा अध्यक्ष र कार्यकारी निर्देशकले हस्ताक्षर गर्नुपर्ने हुन्छ। खर्च गर्ने खातामा भने कार्यकारी निर्देशक र लेखा प्रमुखले हस्ताक्षर गरेर भुक्तानी गर्न सकिने प्राबधान रहेको जनाइएको छ।

अस्पतालमा अध्यक्ष नियुक्ति भए पनि सञ्चालक समितिका पदेनबाहेक सदस्य रिक्त छ। अर्थ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव वा तोकिएको व्यक्ति र भरतपुर महानगरपालिकाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ।

कार्यकारी निर्देशक नेपालले दैनिक काममा अहिले बाधा नरहेको जानकारी दिए। उनले भने, 'ठूला नितिगत निर्णयका लागि संञ्चालक समितिको निर्णय आवश्यक पर्दछ। त्यसबाहेक नियमित कामका लागि अध्यक्ष र कार्यकारी निर्देशकले काम गर्न सक्दछन्।'

अध्यक्ष चयन संगै अस्पतालका नियमित कामहरू सहज भएको उनले जानकारी दिए। अस्पतालमा करिब ८०० चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सेवारत छन्। रासस

प्रतिकृया दिनुहोस