६ निर्माण कम्पनी कालोसूचीमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सरकारी निकायहरूको सिफारिसका आधारमा ती कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम कालोसूचीमा समावेश गरिएको जनाएको हो।
कार्यालयका अनुसार जिम्मा लिएको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नगरेका कारण ती कम्पनीमाथि कारबाही गरिएको हो।
कालोसूचीमा परेका कम्पनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन रोक लगाइएको छ। यस अवधिमा उनीहरूले कुनै पनि सरकारी खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।
कालोसूचीमा पर्ने कम्पनीहरूमा सुनसरीको सरोज कन्स्ट्रक्सन, ललितपुरका आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि, भक्तपुरको क्रेटर कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कृष्टल एण्ड श्रवण निर्माण सेवा तथा हेटौँडाको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि रहेका छन्।






प्रतिकृया दिनुहोस