आत्मदाह प्रयास गरेका विवेकको उपचारका क्रममा मृत्यु
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको सोमबार बिहान २ः०५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार शरीरको अधिकांश भाग जलेका कारण उनको उपचारकै क्रममा ज्यान गएको हो। विवेकले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। प्रारम्भिक उपचारपछि उनलाई शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित बर्न अस्पताल ल्याइएको थियो।
आफन्तका अनुसार बायोलोजी विषयमा एमएस्सी गरेका विवेक एक वर्षदेखि मानसिक तनावमा थिए। उनी रामनगरस्थित एक विद्यालयमा अध्यापन गराउँथे। विद्यालयले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी बेरोजगार बनेका थिए।
यसअघि पनि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको उपचारका क्रममा मृत्यु भइसकेको छ।





प्रतिकृया दिनुहोस