म्यानपावर विवादले नेपाली श्रमिकका लागि मलेसियामा रोजगारी बन्द

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियामा नयाँ कामदार जाने प्रक्रिया तत्कालका लागि रोकिएको छ। श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद नेपाल र मलेसियाबीच समाधान हुन नसक्दा रोजगारी प्रक्रिया प्रभावित भएको हो।

मलेसिया सरकारको ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लूसीएमएस) ले गत असोज १५ गतेदेखि नयाँ श्रमिकको बायोमेडिकल अर्थात् स्वास्थ्य परीक्षणका लागि दर्ता प्रक्रिया रोकेको छ। यससँगै नेपाली श्रमिकका लागि नयाँ ‘कलिङ भिसा’ जारी हुन सकेको छैन।

एफडब्लूसीएमएस सञ्चालन गर्ने कम्पनी वेस्टिनेट एसडीएनले मलेसियाले सूचीकृत गरेका २५ वटा मुख्य म्यानपावर कम्पनी (प्रिन्सिपल रिक्रुटमेन्ट एजेन्सी) सक्रिय भएपछि मात्र बायोमेडिकल दर्ता प्रक्रिया पुनः सुरु गर्ने सर्त राखेको छ।

मलेसियाले गत भदौमा २५ वटा मुख्य र २५० वटा सहायक रिक्रुटमेन्ट एजेन्सी छनोट गरेको थियो। तर, नेपालले उक्त छनोटलाई अनुमति दिएको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छनोट प्रक्रियाप्रति गम्भीर आपत्ति जनाउँदै आएको छ।

मन्त्रालयले दुई देशबीच सहमति नजुटेसम्म पुरानै व्यवस्थाअनुसार श्रमिक भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने अडान राखेको छ। विवाद समाधान र समझदारीपत्र (एमओयू) नवीकरणका लागि संयुक्त कार्यदलको बैठक बस्न मन्त्रालयले नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ को मिति प्रस्ताव गरेको छ।

यद्यपि, मलेसियाली पक्ष आफ्नो निर्णयबाट पछि हट्न तयार देखिएको छैन। मलेसियाका श्रममन्त्री रमानन रामकृष्णानले नेपाली समकक्षी रामजी यादवलाई पत्र लेख्दै २५ वटा मुख्य म्यानपावर कम्पनी र प्रत्येकका मातहत १०/१० वटा सहायक कम्पनी रहने संरचनामा आफ्नो सरकार दृढ रहेको जानकारी गराइसकेका छन्।

दुई देशबीच कूटनीतिक माध्यमबाट विवाद समाधानको प्रयास भइरहेका बेला वैदेशिक रोजगार विभागले भने मलेसियाले सूचीकृत गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकहरूमाथि कानुनी प्रक्रिया अघि बढाएको छ। विभागले ३५ दिनभित्र सम्पर्कमा नआए बैंक खाता तथा यात्रा अनुमति रोक्का गर्न सकिने चेतावनी दिँदै ती कम्पनीको अनुगमनसमेत सुरु गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावका कारण खाडी मुलुकहरूमा नेपाली श्रमिकको नयाँ भर्ना ५२ प्रतिशतभन्दा बढीले घटेको अवस्थामा मलेसियालाई वैदेशिक रोजगारीको प्रमुख विकल्पका रूपमा हेरिएको थियो। गत आर्थिक वर्षमा मात्रै एक लाख ३२ हजार नेपाली रोजगारीका लागि मलेसिया पुगेका थिए।

हाल मलेसियामा करिब चार लाख नेपाली कार्यरत छन्। नेपाल भित्रिने कुल रेमिट्यान्सको झन्डै २० प्रतिशत हिस्सा मलेसियाबाट आउने गरेको छ। यस्तो अवस्थामा रोजगारी प्रक्रिया अवरुद्ध हुँदा नयाँ कामदारका लागि अवसर प्रभावित हुनुका साथै वैदेशिक रोजगारीमा निर्भर नेपाली परिवारसमेत प्रभावित हुन सक्ने देखिएको छ।

प्रतिकृया दिनुहोस
↑