अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने
नेपाली नागरिकले अब नागरिकताको प्रतिलिपि लिन आफूले नागरिकता जारी गराएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ । सरकारले जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था लागू गरेको हो ।
गृह मन्त्रालयले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ तथा सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई यस्तो व्यवस्था कार्यान्वयन गर्न परिपत्र गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै नागरिकता हराएको, आगलागी वा पानीका कारण नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, नयाँ ढाँचामा प्रतिलिपि आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने जनाएको छ ।
काठमाडौं उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थापन गर्न भने तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारी तोकिएको छ । जसअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्नेछन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकका लागि ललितपुर तथा कोशी र मधेस प्रदेशका नागरिकका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालय तोकिएको छ ।
नागरिकताको प्रतिलिपि जारी गर्नुअघि सम्बन्धित व्यक्तिको विवरण प्रमाणीकरण अनिवार्य गरिएको छ । राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको अभिलेखसँग निवेदकको जैविक विवरण मिलेमा मात्र प्रतिलिपि जारी गरिनेछ ।
तर, प्रणालीमा रहेको विवरण र निवेदनमा उल्लेखित विवरण नमिलेमा, पुरानो नागरिकतामा भएको नाम, थर, जन्ममिति वा अन्य विवरण परिवर्तन गरी प्रतिलिपि लिन खोजेमा वा नागरिकता शङ्कास्पद देखिएमा भने नागरिकता जारी भएको साविककै जिल्लामा सम्पर्क गर्नुपर्नेछ ।
नयाँ व्यवस्थाले नागरिकता जारी भएको जिल्लाभन्दा बाहिर बसोबास गर्ने नागरिकलाई प्रतिलिपि लिन सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि प्रतिलिपि लिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमै पुग्नुपर्ने बाध्यताले नागरिकले समय र खर्च दुवै बेहोर्नुपर्ने अवस्था थियो ।





प्रतिकृया दिनुहोस