कम्बोडियाबाट तीन सातामा १३१ नेपालीको उद्धार

बैंककस्थित नेपाली दूतावासले बिनाभिसा कम्बोडियामा रहेका ८ नेपालीलाई उद्धार गरी बुधबार नेपाल फर्काएको छ। पछिल्ला तीन सातामा उद्धार गरिएका नेपालीको संख्या १३१ पुगेको छ।

दूतावासका अनुसार धेरैजसो नेपाली प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र अवैध अनलाइन स्क्यामिङ तथा अन्य गैरकानुनी काममा लगाइएका थिए। राहदानी जफत वा हराएको गुनासो पनि आएको छ।

कम्बोडिया सरकार र गैरआवासीय नेपाली संघको सहयोगमा उद्धार जारी रहेको दूतावासले जनाएको छ।

अझै पनि ठूलो संख्यामा नेपाली बिनाभिसा कम्बोडियामा रहेको र उद्धारको प्रयास भइरहेको दूतावासले जनाएको छ । “यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ,” बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा भनएिको छ । 

दूतावासका अनुसार, २०८२ फागुन २७ गते ३, फागुन २८ गते १६, फागुन २९ गते २१, चैत ५ गते २०, चैत ११ गते ५१, चैत १७ गते १२ र चैत १८ गते ८ जनालाई उद्धार गरी नेपाल फर्काइएको छ ।  साथै, भिजिट भिसामा गएर अलपत्र नपर्न र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर मात्र जान आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस