टोरन्टो सिटी हलमा नेपाली झण्डा फहराउँदै ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा
टोरन्टो — टोरन्टोस्थित सिटी हलमा नेपाली झण्डा फहराउने विशेष कार्यक्रम तथा ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा सम्पन्न भएको छ। नेपाली समुदायका लागि ऐतिहासिक र गौरवपूर्ण मानिएको यो कार्यक्रम उल्लेखनीय उत्साहका साथ सम्पन्न भएको हो।
कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुनुभएकी ओन्टारीयो साम्सद क्रिस्टिन वोंग–टाम ले नेपाली समुदायप्रति सम्मान व्यक्त गर्दै क्यानडाको बहुसांस्कृतिक समाजमा नेपालीहरूको योगदान प्रशंसनीय रहेको बताइन्। उनले यस्ता सांस्कृतिक पहलहरूले समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने उल्लेख गरिन्।
त्यसैगरी प्रमुख अतिथि तथा वक्ताका रूपमा सहभागी काउन्सिलर नीथन शन ले नेपाली समुदायको सक्रियता, एकता र सांस्कृतिक पहिचानप्रति उच्च सम्मान व्यक्त गर्दै टोरन्टोमा ‘नेपाली हेरिटेज वीक’ को घोषणा गर्न पाउँदा गर्व महसुस भएको बताए। उनले भविष्यमा पनि नेपाली समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा काउन्सिलर शनले टोरन्टो शहरकी मेयर ओलिभिया चाउ द्वारा जारी गरिएको प्रोक्लामेसन हस्तान्तरण गर्दै ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा गरे। यस घोषणाले टोरन्टो शहरमा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई संस्थागत मान्यता प्रदान गरेको छ।
शनले सम्बोधनका क्रममा अप्रिल महिनालाई ‘नेपाली हेरिटेज महिना’ का रूपमा विस्तार गर्ने पहल अघि बढाइएको जानकारी पनि दिए।
कार्यक्रममा एनआरएनए क्यानडा का अध्यक्ष जगन सापकोटा, एनसीसीएस का अध्यक्ष सुदर्शन सापकोटा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखे। एनसीसीएस अध्यक्ष सापकोटाले ‘नेपाली हेरिटेज वीक’ को अवधारणा एनसीसीएसबाट प्रारम्भ भए पनि यसको सफल कार्यान्वयन सम्पूर्ण समुदायको सामूहिक प्रयासबाट सम्भव भएको बताए। उनले यस पहललाई संघीय तहसम्म विस्तार गर्न सबै सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रमको सञ्चालन एनसीसीएसका महासचिव टीका राम पौड्याल ले गरेका थिए भने सभापतित्व एनसीसीएस सभापती विमल बस्नेत ले गरेका थिए। बस्नेतले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे।
टोरन्टोस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा समुदायबीचको एकता, सहकार्य र संस्थागत समन्वय स्पष्ट देखिएको थियो।
औपचारिक कार्यक्रमपछि सिटी हलको कमिटी रुममा स्वागत कार्यक्रम आयोजना गरिएको थियो, जहाँ सहभागीहरूबीच अन्तरक्रिया तथा नेटवर्किङ सम्पन्न भएको थियो।
समग्रमा, यो कार्यक्रमले टोरन्टोमा नेपाली समुदायको सांस्कृतिक पहिचान, ऐतिहासिक उपस्थिति र सामाजिक योगदानलाई नगरस्तरमा औपचारिक मान्यता दिलाउने महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।





प्रतिकृया दिनुहोस