कति मया लाग्यो र म संगै आयौ सीता आमा

ज्ञानु र प्रकाशको प्रश्न

आमा !
मेरो कति मया लाग्यो र म संगै आयौ

ए आमा,
एउटी दिदी मसंगै छिन,
म एक्लो थिईन यता। 
दुईटी चेली तिमीसंगै थिए। 
बा थिए। 
मेरो मया लागेर यतिछिट्टै
म संगै किन आयौ......

आमा,
बा लाई आफ्नाले घेरा हाल्छन भन्ने थाहा थियो,
बा लाई पराईले घेरा हालेको थाहा थियो। 
बा भावनामा बग्दा तिमी डुँगा हुन्थ्यौ, 
तिमी म संग आएपछि,
बा लाई कसले हेर्छ र तिमी म संगै आयौ........

आमा, 
म ढलेपछि तिमी ओईलायौ। 
तिमीले सिटामोल दिन नपाऊदा अस्ताएको म,
तिमी सिटामोल खाईखाई पनि उदाऊन सकिनौ। 
किन कमजोर भयो तिम्रो आँत 
किन कमजोर भयो तिम्रो लाम्टो,
रोल्पा रुकुमका जंगलहरुमा नथाकेका तिम्रा पाईला,
म ढलेपछि किन कमजोर भए ?
तिम्रो छट्पटाहटमा मेरा आँसु सुकिसकेथे। 
आमा, मेरो मया कति लाग्यो र म संगै आयौ.......

आमा,
हामि जंगलमा संगै हिड्दा बा कति दह्रा थिए,
दिदीबहिनी  खुसी थिए, प्रकाश थियो घरमा। 
दिदीको चोला उठेपछि मेरो मुहार हेरिथ्यौ,
रेनुको मुस्कानमा बगेको गंगामा पौडिन्थ्यौ,
पुष्पकमल भित्रको प्रकास देखेर दंग पर्थ्यौ,


आमा, 
सिहदरबार र नारायणहिटीका बन्दुकले नउठेको चोला
नियतिले उठायो,
ज्ञानु आकासको भईन, र म पनि। 
आज हाम्रो भयौ तिमी। 
मलाई त खुसी नै लाग्ला बुडीमाऊ,
खुसुक्क म संग आऊदा बा लाई संझिनौ ?
कति मया मान्यौ माथिको र म संगै आयौ

सितामाई,
हाम्ले तिम्लाई सतायौं होला तिम्ले बा लाई सताईनौ। 
अरुले बा लाई गलाए, बा ले अरुलाई। 
कसैले तिमीलाई गलाएनन, तिम्ले बा लाई गलाईनौ। 
जंगल रोजेकी तिमीले सिंहदरबार रोजिनौ। 
बा का पछि चार छोराछोरी लाएर तिमी जंगल गयौ,
तिम्रा सहेली शहर पसे। 
उनिहरु देशविदेश पसे तिमी हामि देशमै। 
तिमीले कतै गुनासो गरिनौ , 
बाले गुनासो गरेनन हामि संग। 
तिमीले दुनियासंग गुनासो गरिनौ। 
तिमी कति महान हौ मेरी माई,
कति मया मान्यौ र आयौ म संग......

आमा,
हाम्लाई त छोड्यौ, रेनु र गंगा पनि रहलान,
पुष्पकमललाई फक्राऊन कसले पानी हाल्ला अब ?
म ढलेपछि तिमी उठ्नुपर्थ्यो आमा,
अब तिमी नै ढलेपछि संसार ढल्यो। 
ज्ञानु, म र तिम्रो कसम अब,
हामि तिन यता भएम,
ए भगवान,
हाम्रा तिनको पृथ्वीमा रक्षा गरिदिनु। 

बा,
स्वासमा पनि अंशबण्डा लाग्दोरहेछ,
तपाई तिनको शताव्दी आयु रहोस। 
सिताआमा हामिसंगै छिन। 
कति मया मान्यौ आमा हाम्रो.......

स्व. सिता दाहाल प्रति श्रद्वान्जली।

लेखक - आरके शर्मा
१२ जुलाई २०२३

 

प्रतिकृया दिनुहोस