के सिक्नु हाम्रा नेताहरूबाट खै
गोविन्द लुइँटेल
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा पदबाट राजीनामा गर्छन् भन्ने धेरैको अनुमान थियो । कतिपयले ओलीले यसो गर्नु नै पर्ने थियो भन्ने गरेका छन् ।नैतिकता अरूले दबाब दिनेभन्दा बढी आत्मबोधको विषय हो । प्रधानमन्त्री ओलीले आफ्नो त्यति ठूलो राजनीतिक र संवैधानिक निर्णय अदालतबाट बदर हुनु राजीनामा नै दिनुपर्नेसम्मको नैतिक दायित्वको कुरा होइन भन्ने ठाने भने अरूले बोध गराउन सक्ने कुरै भएन ।
प्रतिनिधिसभा विघटनको सिफारिसमा राष्ट्रपतिले राजनीतिक दलहरूसँग परामर्श गर्नुपर्थ्यो वा असंवैधानिक हो भनेर अस्वीकार गर्नुपर्थ्यो भन्ने मत पनि धेरैको थियो । राष्ट्रपतिलाई त्यो सिफारिस दलहरूसँग परामर्श गर्नुपर्ने खालको होइन र जति सक्दो चाँडो स्वीकृत गर्नुपर्ने खालको हो भन्ने लाग्यो भने अरूको जिकिरले हुने कुरै होइन । राष्ट्रपति नै राष्ट्रपति हो । बाहिरबाट मत प्रकट गर्ने व्यक्ति राष्ट्रपति होइन ।
एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल साधारण सदस्य पनि नरहने गरी निलम्बनमा परेका छन् । यी नेताका अनुसार उनीहरूमाथि यस्तो कारबाही हुनुपर्ने होइन, यो ओलीको ‘सत्ता भोगको अतृप्त तृष्णा’ हो । यी चार नेता र यिनको लाइनमा रहेका अरू सबैले जे जे भने पनि उनीहरूका कुरा नसुनी हुँदैन भन्ने ओलीलाई लागेको छैन भने किन अरण्य रोदन गर्नु !
अदालतले नेकपा (एमाले) ब्युँत्याइदिएपछि ओलीले हामीलाई फूलमालाले स्वागत गर्नेछन् भन्ने अपेक्षा विरोधी नेताहरूको थियो भने; जे भयो भइगयो, आउनुहोस् मिलेर एमाले सुदृढ बनाऔँ भनेर रातो कार्पेट ओछ्याउनेछन् भन्ने लागेको थियो भने त्यो उनीहरूको बालहठ थियो । अथवा, यसो नगरी ओलीलाई धरै छैन भन्ने उनीहरूले सोचेका थिए भने त झन् अचम्मकै कुरा भयो ।
नेताहरू भन्छन्, राजनीति सरल रेखामा हिँड्दैन । भनिन्छ, राजनीतिमा जे भनिन्छ त्यो गरिँदै र जे गरिन्छ त्यो भनिँदैन । राजनीति हाम्रा विद्यालयमा पढाइ हुने नागरिक शिक्षा र नैतिक शिक्षाको किताबमा लेखेजस्तो नैतिकवान हुँदैन ।
राजनीति भनेकै आफ्ना विरोधीहरूलाई पाखा लगाएर, उठ्नै नसक्ने गरी थला पारेर आफूले अकण्टक शासन चलाउनु रहेछ । धेरै पुरानो कथा पल्टाउनु पर्दैन, देश छाडेर टाढा पनि हेर्नुपर्दैन । किन धेरै टाउको दुखाउनु ! २०४६ सालको जनआन्दोलनको सफलतापछिको नेपाली राजनीति हेरे पुग्छ ।
हाम्रा धेरै जसो नेताहरू प्रशिद्ध ग्रन्थ महाभारतबाट प्रशिक्षित र अनुप्राणित छन् । हाम्रा नेताहरूलाई महाभारतका कथांशहरूमा कहाँ कसले कस्तो छल गरेर कसलाई मार्यो भन्ने कुरा कण्ठस्थै छ । अर्जुनका सारथि श्रीकृष्णले पनि शङ्ख बजाउन लगाएर ‘अस्वत्थामा हतोहत’ भनेका हुन् । यस्ता भित्री कथा धेरै छन् महाभारतमा जसमा हाम्रा नेताहरूलाई खुब रुचि छ ।
ओलीले माधव नेपाल र उनको समूहलाई एमालेमा किन स्वागत गर्नु ! उनीहरूमाथि किन कारबाही नगर्नु ! माधव नेपाल र उनको समूह एमाले फुटाएर अर्को दल बनाउन सक्ने हैसियतमा भए पो ! नयाँ पार्टी गठन गरेर चलाउनु अहिलेका लागि फलामको चिउरा चपाउनुजस्तै हो । माधव नेपालले एमालेलाई कानून बमोजिम विभाजित गर्ने हैसियत नबनाउँदासम्म ओलीले उनलाई कन्याउनु पर्ने कारण नै छैन । राजनीतिको यथार्थ यही हो ।





प्रतिकृया दिनुहोस