नेपालका युवाहरूको अवस्था: "चुनौती र सम्भावना"

कुशल लामिछाने । 

युवाहरू कुनै पनि देशको भविष्यका आधार हुन्, र नेपालको सन्दर्भमा त झन् यो कुराको महत्व अझै बढ्छ। जनसांख्यिकीय तथ्यांकअनुसार, नेपालको कुल जनसंख्याको ठूलो भाग युवाहरूको हो। तर, उनीहरूको वर्तमान अवस्था हेर्दा यो स्रोतलाई सही दिशामा उपयोग गर्न नसकिएको स्पष्ट हुन्छ। शिक्षादेखि रोजगारी, राजनीति, र समाजसम्मका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले सामना गरिरहेका चुनौतीहरूले देशकै प्रगतिको गति रोक्न सक्छ।नेपालमा शिक्षाको पहुँच सुधार गर्न विभिन्न प्रयास भएका छन्।

सार्वजनिक र निजी क्षेत्रबाट विद्यालय र विश्वविद्यालयहरूको संख्या बढाइएको छ। तर, यी शिक्षण संस्थाहरूले आवश्यक गुणस्तर पुर्‍याउन सकेका छैनन्। धेरै युवा विदेशी शिक्षालाई प्राथमिकता दिन्छन्, जसको कारण देशभित्रै श्रम र ज्ञानको उपयोग हुन सकिरहेको छैन। व्यावसायिक शिक्षाको अभाव र व्यवहारिक सीपको कमिले गर्दा धेरै विद्यार्थी स्नातक भएपछि पनि रोजगार दिन सक्षम छैनन्।नेपालको अर्थतन्त्रले सृजना गर्न सक्ने रोजगारीको संख्या सीमित छ।

सरकारी क्षेत्रको रोजगारी अपारदर्शी र सीमित छ भने निजी क्षेत्रमा अवसरको अभाव छ। यसको परिणामस्वरूप, लाखौँ युवा खाडी मुलुक र अन्य देशहरूमा शारीरिक श्रम गर्न बाध्य छन्। विदेशमा बसेर पठाएको रेमिटेन्सले अर्थतन्त्रलाई सहयोग पुर्‍याए पनि, यो दीर्घकालीन समाधान होइन। युवा जनशक्ति गुमाउनु देशको आर्थिक र सामाजिक भविष्यका लागि ठूलो क्षति हो । 

आधुनिक प्रविधिको पहुँचले युवा पुस्तालाई सूचना र ज्ञानको क्षेत्रमा पहुँच दिलाएको छ। तर, यससँगै नकारात्मक पक्षहरू पनि देखिएका छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोग, लागुपदार्थको दुर्बेशन , र अपराधमा संलग्नता बढ्दै गएको छ। मानसिक स्वास्थ्यको विषयमा खुला संवादको अभावले डिप्रेसन र तनावजस्ता समस्याहरूमा वृद्धि गरेको छ।राजनीति, जसले देशको दिशानिर्देश गर्छ, त्यसमा युवाहरूको सहभागिता न्यून छ। पुरानो पुस्ताले राजनीतिमा वर्चस्व जमाइराख्दा युवाहरूलाई अवसर प्राप्त गर्न कठिन भइरहेको छ। केही युवाहरूले नेतृत्वदायी भूमिकामा जान चाहेपनि, पुरानो सोच र संरचनाले उनीहरूलाई पछाडि धकेलिरहेको छ।

युवाहरूले प्रविधिमा देखाएको चासो, उद्यमशीलताको वृद्धिको सुरुवात, र सामाजिक परिवर्तनका लागि गरिएको अभियानले नेपाललाई उचाइमा पुर्‍याउन सक्छ। सरकारले युवामैत्री नीतिहरू लागू गरेमा, शिक्षाको गुणस्तर सुधार, व्यावसायिक तालिमको व्यवस्था, र स्वरोजगारका अवसर सिर्जना गर्न सकिन्छ।नेपालमा युवाहरूको लागि मात्र होइन, समग्र राष्ट्रको प्रगतिको लागि दीर्घकालीन योजना आवश्यक छ। उनीहरूको क्षमता र उर्जा सही दिशामा उपयोग गर्न शिक्षा, रोजगारी, र नेतृत्वको अवसर दिनैपर्छ। निजी क्षेत्रले पनि युवाहरूलाई प्रोत्साहन दिन र उनीहरूको सीपको उपयोग गर्न विभिन्न कार्यक्रमहरू ल्याउन आवश्यक छ।

 यदि सरकार, नागरिक समाज, र युवाहरू आफैँले सक्रिय भएर चुनौतीहरूको सामना गरेमा, नेपालले आफ्नो विकासको नयाँ युग सुरु गर्न सक्छ।।नेपालका युवाहरूको वर्तमान अवस्था चुनौतीपूर्ण भए पनि, उनीहरूले देशको विकासको गति तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। उनीहरूको क्षमता र ऊर्जालाई सही दिशामा परिचालन गर्न सरकार, नागरिक समाज, र निजी क्षेत्रले दीर्घकालीन योजना र नीतिहरू कार्यान्वयन गर्नु अपरिहार्य छ।यदि शिक्षा, रोजगारी, र नेतृत्वका अवसरहरू विस्तार गर्न सकियो भने, नेपालको युवा वर्गले देशलाई आर्थिक, सामाजिक, र सांस्कृतिक उन्नतिको नयाँ युगमा प्रवेश गराउन सक्नेछ।

प्रतिकृया दिनुहोस