विशेष महाधिवेशनलाई कुन चश्मा लगाएर हेर्ने ? यो वैधानिक कि अवैधानिक ?
घेरा र उकेरा लगाउनेहरुले नै हो बिगार्ने ।
मेरो पहिलो प्रश्न, विशेष महाधिवेशनलाई कुन चश्मा लगाएर हेर्ने ? दोस्रो प्रश्न, विशेष महाधिवेशन वैधानिक कि अवैधानिक ?
विशेष महाधिवेशनलाई विधानको चश्मा लगाएर हेरियो भने अनर्थ हुन्छ । यसलाई राजनीतिक चश्मा लगाएर हेर्नुपर्छ । जनता र कार्यकर्ताको परिवर्तनको आकांक्षा नदेख्ने, विधानको अक्षर, वाक्य र दफा मात्र देख्ने काम गलत हो । ल ठिक छ, विधान महाधिवेशन अवैधानिक नै होला रे, तर, परिवर्तनको पक्षमा उभिएका बहुसंख्यक महाधिवेशन र हजारौं कार्यकर्ताको विचार, भावना र आकांक्षा पनि अवैधानिक हो ?
भदौ २४ अघिको नेपाल र पछिको नेपाल फरक हो, भदौ २४ ले नयाँ चेतना र विचार ल्याएको छ, त्यसलाई आत्मसात गर्ने कि नगर्ने ?
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरु मंगल ग्रहबाट आएका हुन् ? कि अरु नै पार्टीका मानिसले गरेको हस्ताक्षर हो ? विशेष महाधिवेशनलाई विधानले चिन्दैन भनेर के गर्न खोजेको ? ल ठिक छ, विशेष महाधिवेशनलाई विधानले चिन्दैन रे, तर, त्यसमा सहभागी हुन आएकाहरुलाई नेपाली कांग्रेसले चिन्छ कि चिन्दैन ? हस्ताक्षर गर्नेहरु नेपाली कांग्रेसका वास्तविक कार्यकर्ता हुन्, उनीहरुको विचार भावनाको सुनुवाई पहिले नै गर्नुपथर््यो । त्यसो नगरेर उनीहरुलाई हकार्ने, ललकार्ने, चेतावनी दिने जस्ता काम गरियो । सभापतिजीलाई घेरा र उकेरा लगाउनेहरुले हस्ताक्षर गर्नेहरुलाई पेलेरै जानुपर्छ भनेर उकासे ।
हलो अड्काएर गोरु चुट्ने काम नगरियोस् । सभापति शेरबहादुर देउवाको हातमा राजनीतिक निकास लुकेको छ । उहाँले नेतृत्व त्यागेर कार्यवाहक दिएपछि परिस्थिति धेरै सुध्रिएको थियो तर फेरि लोभ गर्नुभयो । पुस्तान्तरण र हस्तान्तरणका लागि विश्वसनीय वातावरण बनाउने काम सभापतिजीकै थियो । तर, उहाँले विश्वास तोड्नुभयो । घेरा र उकेरा लगाउनेहरुले सभापतिजीलाई राम्रो बाटो हिँड्न दिएनन् । त्यसको परिणामस्वरुप विशेष महाधिवेशको विषय सतहमा आयो ।
विशेष महाधिवेशन अवैधानिक भन्नु, यसलाई विधानको अक्षर र वाक्यको कसीमा जाँचेर हेर्नुको कुनै तुक छैन । विधानको चश्मा लगाएर विशेष महाधिवेशन हेर्नु गलत हो । आम जनता र कार्यकर्ताले परिवर्तनको आकांक्षा राखेका छन्, परिवर्तनको आकांक्षालाई सम्बोधन गरिनुपर्छ । परिवर्तनको यस्तो आकांक्षालाई सम्बोधन गर्दै पार्टी एकता बिग्रन नदिन डा. शेखर कोइरालाले गरिरहनुभएको पहलले अहिलेसम्म सार्थकता नपाउँदा म दुःखी छु । आज बस्ने केन्द्रीय समिति र त्यसपछिका क्षणहरुमा डा. कोइरालाको पहलले मूर्त रुप पाउँदै आम कार्यकर्ताको विचार, भावना र मागको सम्बोधन हुने मलाई विश्वास छ ।
अहिलेको द्धन्दमा सभापतिजीले हार्नुहुन्छ तर म उहाँ हारेको हेर्न सक्दिनँ । किनभने नेपाली कांग्रेसभित्र हार र जित हुनुहुँदैन । कांग्रेसभित्र सबैले जित्नुपर्छ । सबैले जित्ने वातावरण बनाउने जिम्मा कसको ? मूल नेतृत्वकै होइन र ? सभापतिजीलाई घेरा र उकेरा लगाएर बसेका स्वार्थीहरु परिस्थितिलाई हार र जितमा पुराउन खोज्दैछन् । यो गलत हुन्छ । विशेष महाधिवेशनको स्वामित्व संस्थापनले लिन अब ढिला गर्न हुँदैन । यो नै समाधान हो ।
गर्ने के त ? हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधि साथीहरुको विचार, भावना र मागलाई सभापतिजीले सम्बोधन गर्नुपर्छ । उपाय यही हो, समाधान यही हो । यो समाधान अपनाउन जति ढिला गर्नुहुन्छ, त्यति धेरै क्षति हुन्छ ।
जय नेपाल।
(यस लेखका लेखक दिनेश कोइराला हुन् । कोइराला राजनीतिज्ञसँगै लेखक तथा चलचित्र निर्माता पनि हुन् ।)





प्रतिकृया दिनुहोस