मिस नेपाल २०२६ का लागि आवेदन खुला

काठमाडौं । द हिडन ट्रेजर ले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ । नेपालभित्र तथा विदेशमा रहेका इच्छुक नेपाली युवतीहरूलाई आवेदन दिन आह्वान गरिएको आयोजकले जनाएको छ । आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ तोकिएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा साउन १६ गते पुल्चोकस्थित द प्लाजा मा आयोजना हुनेछ । कार्यक्रम हिमालयन टेलिभिजन बाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन न्यूनतम उचाइ ५ फिट ३ इन्च तथा उमेर १८ देखि २७ वर्ष हुनुपर्नेछ । आवेदकसँग नेपाली नागरिकता अनिवार्य हुनेछ । विदेशमा बसोबास गर्ने नेपालीहरूले गैरआवासीय नेपाली परिचयपत्रका आधारमा पनि आवेदन दिन सक्नेछन् । आवेदन निःशुल्क राखिएको छ ।

यस वर्ष मिस नेपाल विश्व, मिस नेपाल कोस्मो र मिस नेपाल अन्तर्राष्ट्रिय गरी तीन विधामा विजेता घोषणा गरिनेछ । प्रतियोगिताका मुख्य शीर्ष प्रायोजकका रूपमा कज्यारिया रमेश टाइल्स लिमिटेड रहेको छ भने श्री नटराज ज्वेलर्स सह–प्रायोजक तथा क्राउन पार्टनरका रूपमा आबद्ध रहेको छ ।

मिस नेपालको खोज अभियान विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरसहित विभिन्न सहरमा सञ्चालन गरिनेछ । साथै काठमाडौंका १० वटा कलेजमा पनि विशेष कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

अन्तिम अडिसन जेठ २९ गते काठमाडौंमा हुनेछ । छनोट भएका प्रतिस्पर्धीलाई अन्तिम प्रतिस्पर्धाअघि प्रशिक्षण तथा व्यक्तित्व विकाससम्बन्धी तालिम दिइनेछ ।

प्रतिकृया दिनुहोस