आजबाट जितु नेपालको ‘आई एम जीतबहादुर’ हलमा
फिल्म ‘आई एम जितबहादुर’ आज (शुक्रबार)देखि देशभर प्रदर्शनमा आएको छ। हास्य कलाकार तथा अभिनेता जितु नेपाल को मुख्य भूमिका रहेको यो फिल्म फ्राइडे रिलिजअन्तर्गत हलमा लागेको हो। यस साता प्रदर्शनमा आएको यो एकमात्र नेपाली फिल्म पनि हो।
फिल्ममा जितु नेपालसँगै वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा र राजन सिम्खडालगायत कलाकारहरूको अभिनय रहेको छ।
ड्रामा विधामा निर्माण भएको फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। अभिनयप्रतिको गहिरो लगाव बोकेको जितबहादुरले आफ्नो सपना पूरा गर्न गर्ने संघर्ष, उतारचढाव र जीवनयात्रालाई फिल्ममा चित्रण गरिएको छ।
फिल्मको निर्देशन सुभेन्दु घोष ले गरेका हुन्। १३३ मिनेट लामो फिल्मका निर्माता जितु नेपाल हुन् भने सह–निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन्। निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताको भूमिकामा छन्। युनिभर्सल सर्टिफिकेट प्राप्त भएकाले फिल्म सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।
यस साता नेपाली फिल्मतर्फ ‘आई एम जितबहादुर’ मात्र प्रदर्शनमा आए पनि विदेशी फिल्महरू पनि हलमा रिलिज भएका छन्। तीमध्ये ‘ककटेल २’ विशेष चर्चामा छ।
‘आई एम जितबहादुर’ले सुरुआती शो उत्साहजनक रूपमा पाएको बताइएको छ। अब यसको व्यापारिक सफलता भने दर्शकको प्रतिक्रिया र ‘वर्ड अफ माउथ’मा धेरै हदसम्म निर्भर रहने अपेक्षा गरिएको छ।





प्रतिकृया दिनुहोस