फिल्म ‘पाँच पाण्डव’को छायांकन ६६ दिनमा सकियो सुटिङ्

वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘पाँच पाण्डव’को छायांकन सम्पन्न भएको छ। चैत २ गतेबाट सुरु गरिएको फिल्मको छायांकन ६६ दिनमा सकिएको निर्माण टिमले जनाएको छ। छायांकन सकिएको अवसरमा निर्माण टिमले ‘इन्डक्ल्याप’ लेखिएको केक काटेर खुसी साटासाट गरेको थियो।

निर्देशक निरौलाले छायांकनका क्रममा कुनै सम्झौता नगरेको बताउँदै त्यसको परिणाम पर्दामा पनि देखिने दाबी गरेका छन्। काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा नेपाली फिल्म क्षेत्रका चर्चित तथा अनुभवी कलाकारहरूको अभिनय रहेको छ। हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य भूमिकामा देखिनेछन्।

त्यस्तै दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायत कलाकारको पनि अभिनय रहेको छ। लेखक सुशील पौडेलका अनुसार फिल्म सामाजिक कथावस्तुमा आधारित छ, जसले महाभारतका पाँच पाण्डवको प्रतीकमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

फिल्मको अधिकांश छायांकन झापाका विभिन्न रमणीय स्थानमा गरिएको हो। कथा, पटकथा र संवाद सुशील पौडेलले लेखेका हुन् भने छायांकन श्याम तामाङले गरेका छन्। प्रस्तुतकर्ता नवीन श्रेष्ठले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए।

प्रतिकृया दिनुहोस